काठमाडाैं- काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा गत २९ भदौमा भएको चारजनाको सामूहिक हत्याका आरोपी सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत काठमाडाैंले गैरीगाउँमा रहेको दिव्या सःमिलमा ४ जनाको हत्यामा समातिएका भण्डारीलाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो। उनले आरोप स्वीकार गरिसकेका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारीको वीरेन्द्र चोक बस्ने भण्डारीले गत भदौ २८ गते राति पौने ९ बजेदेखि सवा १० बजेसम्म आधा घण्टाको बीचमा ४ जनाको सामूहिक हत्या गरेर फरार भएका थिए।
प्रहरी परिसर काठमाडौंको टोलीले भण्डारीलाई प्रहरीले भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो।
भण्डारीले उक्त फर्निचरमा बसेर काम गर्दै आएका दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय नवीन भनिने विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।
सीसीटीभी फुटेजको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी भण्डारीलाई सार्वजनिक गरेको थियो। जन्मजात बोल्न नसक्ने भण्डारीले नक्सालस्थित बाल मन्दिरबाट सांकेतिक भाषामा कक्षा १२ सम्म अध्ययन समेत गरेका छन्।
हत्या गरेपछि झोलामा खुकुरी बोकेर सिन्धुपाल्चोक जाने तयारीमा रहेका बेला उनी पक्राउ परेका थिए। पक्राउ परेपछि भण्डारीले कपीमा ‘आइ किल्ड फोर पिपुल’ लेखेर हत्या समेत स्वीकार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।