काठमाडौं– कोशी प्रकरणबारे छलफल गर्न बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शेखर कोइराला अनुपस्थित भएका छन्। सभापति शेरबहादुर देउवाले कोशी प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा आवश्यक निर्णय लिन निजी निवास धुम्बाराहीमा बैठक बोलाएका थिए।
तर बैठकमा आउँछु भनेर कोइराला अनुपस्थित भएको पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। कोइराला अनुपस्थित भएपछि उनी पक्षका नेताहरू पनि शनिबार कोइरालासँगै बैठक बस्ने भन्दै उठेका थिए।
कोइरालाले नै केदार कार्कीको पक्षमा कोशीमा ८ जना सांसदलाई हस्ताक्षर गर्न लगाएको बैठकमा छलफल भएको उनले बताए। शेखर पक्षका ८ जना सांसद र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की प्रदेश प्रमुख पर्शुराम खापुङ कार्यालय पुगेका छन्।
कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपस्थित थिए। गठबन्धनले कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। तर एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसद लिएर केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
विश्वकर्माका अनुसार कोइरालाई साझा सहमतिमा आङ्बोलाई फिर्ता बोलाएर कांग्रेसबाटै अर्को साझा व्यक्ति छनोट गर्न प्रस्ताव गरिएकोमा उनले उक्त प्रस्ताव अस्वीकार गरेका छन्। बैठक शनिबार पुन: बस्नेगरी बिना निष्कर्ष सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।