काठमाडौं– कांग्रेसको असन्तुष्ट पक्षको साथ लिएर मुख्यमन्त्रीमा सोही समूहका सांसद केदार कार्कीलाई अघि बढाएको ‘कांग्रेस–एमाले’ गठबन्धनले कार्कीलाई नियुक्त गर्न माग गर्दै दबाब दिएका छन्। त्यसका लागि उनिहरू कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयअघि धर्ना बस्न पुग्दैछन्।
खापुङले शुक्रबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए। सोही आह्वानअनुसार कांग्रेसको संस्थापन पक्षले माअोवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा सहयोग गर्ने बताएसँगै असन्तुष्ट बनेका सांसदहरुले एमालेसँग मिलेका हुन्। दुवै समूहले बिहीबारै उम्मेदवारी दर्ता गराएको छ।
समयावधि सकिएसँगै नियुक्तिमाा ढिलाइ हुने सम्भावना रहेकाले प्रदेश प्रमुखको कार्यालयअघि पुगेर धर्ना दिन लागेको एमालेका एक सांसदले बताए।
‘हामी ५ बजे प्रदेश प्रमुखको कार्यलय पुग्छौँ। सत्ताको धाक-रवाफ लगाएर नियुक्तिलाई ढिलाइ गर्ने देखिएको छ। हामी त्यहाँ पुगेर धर्ना बस्छौँ,’ एक सांसदले नेपाल लाइभलाई बताए।
एमालेका ३९ र कांग्रेसका असन्तुष्ट ८ सांसदको हस्ताक्षर कार्कीका नाममा प्रदेश प्रमुखको कार्यालयमा बुझाइएको छ।
उता, आङ्बोले पनि ४७ सांसदकै हस्ताक्षर बुझाएका छन्। उनले बुझाएको हस्ताक्षरमा कांग्रेसका असन्तुष्ट सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।