काठमाडौं– कांग्रेस–माओवादी सम्मेलित गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्रीमा आफू निकट प्रदेश सांसद केदार कार्कीलाई अघि बढाएपछि कांग्रेस नेता शेखर कोइराललाई पछि हट्न दबाब बढेको छ। कार्कीले एमाले सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
बिहीबार दिउँसो बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति जुटेको थियो। उक्त निर्णयलाई चुनौती दिँदै कोइराला समूह एमालेसँग मिल्न गएको हो।
प्रमुख प्रतीपक्षीसँग गठबन्धनभित्रको समूह मिल्न गएपछि सो निर्णयबाट फिर्ता हुन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नेता कोइरालालाई दबाब दिएका हुन्।
कोइरालाको सचिवालयका अनुसार पौडेल र सभापति देउवाले नेता ज्ञानेन्द्र बहादुर कार्कीको माध्यमबाट शुक्रबार बिहान र प्रधानमन्त्री प्रचण्डले मध्यान्नतिर फोनमार्फत् कोइरालालाई पछि हट्न आग्रह गरेका हुन्। जवाफमा कोइरालाले आफू पछि हट्न नसक्ने बताएको सचिवालयले बतायो।
‘राष्ट्रपति पौडेल, सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले फोन गरेर दाइलाई पछि हट्न आग्रह गर्नुभयो। तर दाइले जवाफमा स्पष्टसँग पछि हट्न नसक्ने बताउनुभएको छ,’ कोइरालाको सचिवालयले कुराकानीलाई उदृत गर्दै भन्यो, ‘कोशीमा कांग्रेसलाई जोगाउन उक्त निर्णयमा पुग्नु परेको दाइले स्पष्ट पार्नुभयो।’
प्रचण्डले गठबन्धनको कुरा जोडिएकोले अहिले निर्णयलाई पुनर्विचार गर्न र आगामी दिनमा मिलेर अघि बढ्न आग्रह गरेको कोइरालाको सचिवालायले उल्लेख गरेको छ।
कोशीमा शुक्रबार साँझसम्मको समयसम्म मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख कार्यालयले आह्वान गरेको थियो। तर बिहीबार साँझनै मुख्यमन्त्रीमा गठबन्धन भित्रैबाट दुई सांसदले उम्मेदवारी दिएका छन्। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन आह्वान भएको हो।
उपधारा अनुसार प्रदेश सभाको जुनसुकै सदस्यले आवश्यक बहुमत सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गर्न सक्छ। तर सोही धाराको उपधारा ४ बमोजिम ३० दिनभित्र संसद्बाट बहुमत सिद्ध गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।