जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी (फाइल तस्बिर) काठमाडौं– राष्ट्रिय जमोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्रमा गरेको भ्रणको विरोध गरेको छ। नेपाललाई जानकारी नै नदिइ नेपाली भूमिका भारतीय प्रधानमन्त्रीले भ्रमण गरेको भन्दै जनमोर्चाले विरोध जनाएको हो।
बिहीबार नेपालसँग सीमा जोडिएको पहाडी राज्य उत्तराखण्ड आएका भारतीय प्रधानमन्त्री मोदीले नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्रमा पनि पुगेका थिए। त्यस क्रममा उनले गुञ्जी क्षेत्रका गाउँलेसँग अन्तर्क्रिया समेत गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
जनमोर्चाले कालापानी क्षेत्रमा पर्ने गुञ्जी लगायतका गाउँ दार्चुला जिल्लाको ब्यास गाउँपालिकाको वडा नम्बर १ मा पर्ने उल्लेख गर्दै उक्त क्षेत्रमा भारतीय प्रधानमन्त्रीले भ्रमण गरेर नेपाल प्रतिको हेपाहा तथा विस्तारवादी नीतिलाई थप उजागर गरेको बताएको छ।
‘भारतीय साम्राज्यवादले कालापानी क्षेत्रलाई कब्जा गरेर भारतीय संघमा मिलाउनका लागि लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आएको छ। अहिलेको उन (मोदी)को भ्रमण त्यसैको एउटा कडी हो। भारतीय प्रधानमन्त्रीको भ्रमणबाट पनि कालापानी क्षेत्रको अतिक्रमित भू–भाग भारतले सहज रुपमा छोड्ने र आफ्ना सेना फिर्ता लैजाने पक्षमा नभएको नै देखाउँछ। त्यसैले कालापानीको विवादलाई अन्तर्राष्ट्रियकरण गरिनु पर्दछ,’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।