काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशमा सरकार गठनको विषयमा तटस्थ बस्ने नीति अख्तियार गर्ने भएको छ। राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले कोशी प्रदेश सरकार गठनमा पार्टीको सक्रिय भूमिका नरहने बताएका छन्।
कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा छलफल गर्न राप्रपाले शुक्रबार पदाधिकारीहरुको बैठक बोलाएको थियो। बैठकले प्रदेश सरकार गठनका विषयमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
‘कोशीमा राप्रपा तटस्थ बस्छ। राप्रपाले घटनाक्रममालाई नजिकबाट नियालेको छ,’ बैठकपछि सञ्चारकर्मीसँग बोल्दै श्रेष्ठले भने।
कोशी सरकार गठनका लागि सत्तारुढ गठबन्धनबाटै २ वटा दाबी पेस भएका छन्। केन्द्रको सत्तारुढ गठबन्धनले गरेको निर्णयानुसार माओवादी केन्द्रबाट इन्द्र आङ्बोले दाबी पेस गरेका छन्। यस्तै, नेपाली कांग्रेसका केदार कार्कीले एमालेको साथमा मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।