काठमाडौं– कोशीमा नयाँ मुख्यमन्त्री को बन्ने भन्ने पृष्ठभूमिमा बिहीबार दिउँसोसम्म निर्णायक भूमिकामा राप्रपाका ६ सांसद थिए।
मुख्यत कांग्रेस–माओवादीलगायतको संघको गठबन्धन राप्रपालाई आफ्नो समूहमा भित्र्याउने र आरामको बहुमत तयार गर्ने कसरतमा थियो। त्यसका लागि बिहीबार दिउँसो बालुवाटारमा बसेको गठबन्धनका दलले राप्रपालाई सभामुख दिने र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री दिने सहमति गरेका थिए। राप्रपाले भने शुक्रबार अन्तीम निर्णय लिने बताएको थियो।
तर परिस्थिति बिहीबार अपराह्न पछि उल्टियो। जसकारण तत्काललाई राप्रपाको भूमिकाको औचित्य सकियो। यद्यपि, आगामी दिनमा उसको महत्व उत्तिकै रहने त छ, तर जसरी केही दिन अघिसम्मको उसको निर्णयका प्रतीक्षामा दलहरु थिए अहिलेलाई त्यसको आवश्यकता देखिन्न।
राप्रपाको भूमिका फिक्का बन्नुमा सत्तागठबन्धन भित्रको किचलो हो। पृष्ठभूमिमा भने एमालेको रणनीतिक मुभमेन्टले काम गरेको छ।
एमालेले कांग्रेसको असन्तुष्ट पक्षलाई मनाएर पार्टीभित्र फुट सिर्जना गरिदिएको छ। ४० सांसद एमालेका समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री दाबी गर्दै छन्। मौजुदा गठबन्धनबाट माओवादी केन्द्रमा आङ्बोले मुख्यमन्त्री दाबी गर्दैछन्।
आङ्बोलाई मुख्यमन्त्री बनाउने दाबी पेस गर्न पुगेको समूहले अहिले प्रदेश प्रमुख परशुराम खापुङसँग छलफल गरिरहेको छ। उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरूको समर्थन छ।
आङ्बोलाई मुख्यमन्त्री दिने भनेर गठबन्धनमा निर्णय भएको थियो। सोही अनुसार उनले दाबी पेस गर्न लागेका हुन्।
त्यस्तै, आङ्बोलाई मुख्यमन्त्री दिने भनेर गठबन्धनमा भएको सहमतिप्रति असन्तुष्ट कांग्रेसका शेखर कोइराला पक्षका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउने अर्को प्रयत्न पनि भइरहेको छ। कांग्रेसका केही सांसद र एमालेका पूर्ण सहयोगमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।
श्रेष्ठका अनुसार, कार्कीका समूह पनि प्रदेश प्रमुख कार्यालय पुगेको छ। आङ्बोको टोलीले प्रदेश प्रमुख खापुङलाई भेटिरहेका कारण कार्कीको समूह कुरिरहेको छ।
९३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि ४७ सांसदको हस्ताक्षर चाहिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।