काठमाडौं– कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाटै दुई वटा दाबी पेस हुने भएको छ। त्यसका लागि अहिले प्रदेश प्रमुख कार्यालयमा दुवै पक्षका नेताहरू पुगिसकेका छन्।
प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठका अनुसार माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने दाबी पेस गर्न पुगेको समूहले अहिले प्रदेश प्रमुख परशुराम खापुङसँग छलफल गरिरहेको छ। उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरूको समर्थन छ।
आङ्बोलाई मुख्यमन्त्री दिने भनेर गठबन्धनमा निर्णय भएको थियो। सोही अनुसार उनले दाबी पेस गर्न लागेका हुन्।
त्यस्तै, आङ्बोलाई मुख्यमन्त्री दिने भनेर गठबन्धनमा भएको सहमतिप्रति असन्तुष्ट कांग्रेसका शेखर कोइराला पक्षका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउने अर्को प्रयत्न पनि भइरहेको छ। कांग्रेसका केही सांसद र एमालेका पूर्ण सहयोगमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।
श्रेष्ठका अनुसार, कार्कीका समूह पनि प्रदेश प्रमुख कार्यालय पुगेको छ। आङ्बोको टोलीले प्रदेश प्रमुख खापुङलाई भेटिरहेका कारण कार्कीको समूह कुरिरहेको छ।
९३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि ४७ सांसदको हस्ताक्षर चाहिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।