विराटनगर– नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखकहाँ पुगेका छन्। कार्की बिहीबार साँझ मुख्यमन्त्री दाबी गर्दै प्रदेश प्रमुख परशुराम खार्पुङ्गकहाँ पुगेका हुन्।
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार एमालेका ३९ र कांग्रेसका ८ जनाले कार्कीका पक्षमा हस्ताक्षर गरेका छन्। एकजना आउन बाँकी रहेको बताउँदै ४८ जनाको हस्ताक्षर हुने भण्डारीले जानकारी दिए।
शेखर कोइराला पक्षका कार्कीले सत्ता गठबन्धनको निर्णय लत्याउँदै दाबी पेस गरेका हुन्। एमाले प्रमुख सचेतक भण्डारीलगायतका सांसदहरुसँग उनी प्रदेश प्रमुखकहाँ पुगेका हुन्।
कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दुईपटक मुख्यमन्त्रीको प्रयास गरेका थिए। तर, उनी सफल हुन सकेनन्। कोइराला पक्षका कार्कीले त्यसयता मुख्यमन्त्रीमा दाबी गर्दै आएका थिए।
सत्ता गठबन्धनले भने नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।