काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मुलुको आर्थिक अवस्था सुधारका लागि विशेष पहल गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभामा बिहीबार विशेष समयमा बोल्दै पुनले आर्थिक मन्दीको अवस्था अनत्यका लागि विज्ञसहित सम्वद्ध क्षेत्रको सुझाव लिएर सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।
व्यवसायीहरुमा व्याप्त असुरक्षाका कारण बजारमा माग नहुँदा बैंकहरुमा रकम थुप्रिएर बसेको उनको भनाइ थियो। पूर्वअर्थमन्त्रीसेमत रहेका पुनले सरकारले निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्ने बताए।
‘पछिल्लो समय आर्थिक मन्दीको अवस्था छ। मन्त्रिपरिषद् र अर्थ मन्त्रालयले त्यसबारे बोल्नुपर्छ। बाह्य क्षेत्र राम्रै रहे पनि आन्तरिक रुपमा अर्थतन्त्र चलायनमान हुन सकेको छैन’, पुनले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल उठाउने काम गर्नुपर्छ। निजी क्षेत्रसहित सरोकारवाला सबैको सुभाव लिएर लगानीकर्तामा रहेको डर हटाउन सरकारले पहल गर्नुपर्छ।’
उनले दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिए पनि विगतका वर्षहरुमा जस्तो आयात नहुनुको कारण खोज्न सरकारलाई आग्रह गरे। सेयर बजार र घरजग्गाको कारोबारमा सुस्तता आएको, साना लगानीकर्ता टाट पल्टिएको र ठूला लगानीकर्ता पनि समस्यामा परेको उनको भनाइ थियो।
संविधानको व्यवस्थाअनुसार हालै जारी भएको नागरिकता विधेयकले गैरआवासीय नागरिकताको व्यवस्था गरेको भए पनि व्यवहारिक जटिलता देखिएकाले त्यसमा सरकारको ध्यान जर्नुपर्ने उल्लेख गरे।
‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यताअन्तर्गत राजनीतिबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्थाले संसारभर छरिएका नेपालीलाई नेपालका लगानीको वातावरण बनाएको बताए।
‘गैरआवासीय नेपालीले नेपालमा लगानी गरिहेका छन्। थप लगानी गर्न चाहेका छन्’, उनले भने, ‘अमेरिकासहित केही देश र नेपालको करसम्बन्धी व्यवस्थामा मेल नखाएका कारण दोहोरो कर तिर्नुपर्ने अवस्था छ’, पुनले भने, ‘ती देशसँग दोहोरो कर अन्त्यसम्बन्धी सम्झौताका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।