काठमाडौं– एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को ४०औं स्थायी कमिटी तथा एसिया–युरोप पोलिटिकल फोरमको पाँचौं वार्षिक बैठक नेपालमा हुने भएको छ। यही असोज २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको हो।
कार्यक्रममा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञहरूका बीचमा विभिन्न समसामयिक विषयमा प्रस्तुति तथा छलफल हुने एमाले प्रचार विभाग सचिव गगन विष्टले बताएका छन्।
उक्त बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेवनान, चेक गणतन्त्र, नेदरल्याण्ड लगायत विभिन्न मुलुकका २६ वटा राजनीतिक दलका नेताहरू, मन्त्री तथा सांसदहरू गरी ५० भन्दा बढीको सहभागिता रहने उनले जानकारी दिएका छन्।
‘बैठकको सम्पूर्ण तयारी पूरा भएको छ। बैठकमा सहभागिताका लागि विभिन्न देशबाट हाम्रा पाहुनाहरू आउन सुरु गर्नुभएको छ,’ उनले भने।
काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजना गरिने बैठकको उद्घाटन सत्रलाई पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले असोज २७ गते बिहान सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।