काठमाडौं– चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव गराएर महंगी बढाइएको भन्दै साांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले चाडपर्वको बेलामा महंगी बढेको बताएका हुन्। उनीहरुले दैनिक उपभोग्य खाद्यान्नहरुको कृत्रिम अभाव सिर्जना गरिएको र कालोबजारी गरिएको भन्दै कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन्।
बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको बताए। उनले कालोबजारी मौलाएको भन्दै सरकारले कालोबजारीलाई प्रश्रय दिइरहेको बताए। जनतामाथि खेलवाड नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन्।
‘चाडपर्वको सम्मुखमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको छ। नेपालका चिनी उद्योगीहरुसँग पर्याप्त मात्रामा चिनी अहिले पनि छ। तर त्यो बजारमा आउन सकेको छैन। बजारमा कालोबजारी मौलाएको छ। सरकारले कालोबजारीहरुलाई प्रश्रय दिने काम गरेको छ। जनतामाथि यति ठूलो खेलवाड सरकार नगरोस्। जनताले सहज रुपले उपभोग गर्नलाई कुण्ठित गर्ने काम सरकारको तर्फबाट नहोस् भन्ने माग गर्न चाहन्छु।’
यस्तै उनले स्थानीय तहहका कर्मचारीहरुको शान्तिपूर्ण आन्दोलमा सरकार निर्ममतापूर्वक दमनमा उत्रिएको भन्दै आक्रोश व्यक्त गरे।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले महंगी नियन्त्रण गर्न नसकेको भन्दै असन्तुष्टि जनाए। उनले सरकारले महंगी नियन्त्रण गर्छ भन्नेमा जनतामा आशा पनि नरहेको बताए।
उनले भने, ‘महंगीको बारेमा जति नै कुरा गरे पनि सरकारले यसलाई नियन्त्रण गर्न सकेन। जनतामा खास आशा पनि छैन। गाडी चढेर घर जाँदा बाटोमा परेका खाल्डाहरु पनि पनि पुरिएनन्।’
सामाजिक सञ्जालमार्फत् ठगीका घटना पनि भइरहेको भन्दै प्रविधिको प्रयोग गरी ठग्ने कार्यको अन्त्य गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।
सांसद दामोदर पौडेल बैरागीले उपभोग्य वस्तुको मुल्य आकाशिएको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरे। कालोबजारी बढेको, कृत्रिम अभाव भएको र गाडी भाडा बढाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
सांसद दीपा शर्माले नेपाल–भारत सीमा नाकामा सुरक्षाकर्मीले चेकजाँचको नाममा हैरानी दिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद देवप्रसाद तिमल्सिनाले किसानले महिनौंदेखि दूधको मूल्य नपाएको भन्दै किसानको रकम तत्काल भुक्तानी गर्न माग गरे।
सांसद प्रकाशमान सिंहले चाडपर्वको समयमा बजार भाउको नियन्त्रण हुनुपर्ने बताए। उनले दैनिक उपभोग्य सामग्रीहरुको अभावको परिपूर्ति गर्न सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे।
यस्तै सांसद प्रेमबहादुर महर्जनले महंगी र अभावलाई हटाउन अनुगमन हुनुपर्ने बताए। सुलभ खाद्यान्न पसलको व्यवस्था गर्न र सुलभ टिकट र यातायातको व्यवस्था गर्न पनि सरकारसँग उनले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।