जहाज अवतरणपछि मन्त्री साउदलाई स्वागत गर्दै इजरायलस्थित नेपाली राजदूतसहितको टोली काठमाडौं- नेपाली विद्यार्थीहरूको उद्धारका लागि गएको नेपाल वायुसेवा निगमको जहाज इजरायलमा अवतरण गरेको छ। बिहीबार दिउँसो तेलअवीवस्थित बेन गुरिन विमानस्थलमा जहाज अवतरण गरेको हो।
उद्धार गर्न गएको टोलीमा परराष्ट्रमन्त्री एनपी साउद स्वयं समेत रहेका छन्। मन्त्री साउदलाई विमानस्थलमा नेपाली राजदूतसहितको टोलीले स्वागत गरेका छन्।
विद्यार्थीलाई ल्याएर जहाज बिहीबार नै फर्किनेछ। राति सवा ९ बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल विमान अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल फर्किनका लागि बेन गुरिन विमानस्थलमा २५१ जना विद्यार्थी जम्मा भएका छन्। शनिबारको आक्रमणमा परी घाइते भएका तीन जना भने त्यहाँस्थित स्थानीय अस्पतालमा उपचाररत छन्, उनीहरू विमानस्थल आएका छैनन्।
गएको शनिबार प्यालेस्टिनी विद्रोही समूहले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए। कञ्चनपुरका विपीन जोशी अझै बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।