काठमाडौं– व्यक्ति हत्या गरेर हुलिया परिवर्तन गरी साधु बनेका १ जना व्यक्ति १९ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ घर भएका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईं छन्। प्रहरीका अनुसार तोयानाथले २०६१ मंसिर १४ गते हजुरआमा नाता पर्ने मनकुमारीको हत्या गरेका थिए। राति सुतेको अवस्थामा हजुरआमा वाग्लेलाई बाँसको लौरो र ढुंगाले टाउकामा प्रहार गरी उनका गरगहना लुटेका थिए।
घाइते बनाएर गहना लुटेर घरको ढोकामा बाहिरबाट ताला लगाएर उनी फरार भएका थिए। हजुरआमाको हत्या गर्दा उनी २४ वर्षका थिए। घटनाको १९ वर्षपछि ४३ वर्षको उमेरमा तोयानाथलाई प्रहरीले पक्राउ गरेको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सूचनाको आधारमा चितवन प्रहरीले उनलाई नवलपरासीको बर्दघाटबाट पक्राउ गरेको हो। उनलाई असोज २२ गते साँझ ५ बजेतिर बर्दघाट नगरपालिका–४ बाडी पीडितस्थित शिव मन्दिरबाट पक्राउ गरेको हो। उनी उक्त मन्दिरमा साधुको भेषमा बस्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।