काठमाडौं– ६० किलो बढी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त नेपाल तथा चीनको समेत नागरिकता भएका बेल्जियम नागरिक दावा छिरिङलाई विद्युतीय चुरोट (भेप)मार्फत् भएको सुन तस्करी प्रकरणमा पनि मुख्य अभियुक्त करार गरिएको छ। भेपमा लुकाएर ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठामडौंले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
सरकारी वकिलले दावासहित ४ जनालाई अभियुक्त बनाएर अदालतमा मुद्दा दर्ता गरेको छ। भेपमार्फत् भएको भनिएको सुन तस्करी प्रकरणमा यसअघि पनि त्रिभुवन विमानस्थलका कर्मचारीहरुसहितविरुद्ध मुद्दा दायर गरिएको थियो।
भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको संलग्नताको पनि ‘प्रमाण’ देखिएको विषय सार्वजनिक भएको थियो। तर सरकारी वकिलले पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाएन।
पूर्वसभामुख महराका छोरा राहुललाई भने मतियारको रुपमा अभियुक्त बनाएर मुद्दा दायर गरिएको छ। यो प्रकरणमा दावा र राहुल महरासहित दावाका गाडी चालक नेपाली नागरिक लोकेन्द्र पौडेल र नीमा गुरुङलाई प्रतिवादी बनाइएको छ।
दावाविरुद्ध भन्सार ऐन, फौजदारी अपराध संहिता र संगठित अपराधअन्तर्गतको कसुरमा सजाय हुनुपर्ने मागदाबी गरिएको छ। काठमाडौंमा भियना होटल सञ्चालन गर्दै आएका दावाले होटलको आवरणमा सुन तस्करी गरेको दाबी अभियोगपत्रमा गरिएको छ।
भेपमार्फत् भएको सुन तस्करी प्रकरण सतहमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको अवस्थामा ६० किलो बढी सुन बरामद भएको थियो। मोटरसाइकलको ब्रेक प्याडका रुपमा भित्रिएको सुन तस्करीमा पनि दावाको मुख्य भूमिका रहेको अनुसन्धानबाट खुलेको थियो।
भेपमार्फत् भएको सुन तस्करी प्रकरणको अनुसन्धान बयानमा दावाले काठमाडौं महानगरपालिका–२६ ठमेल ज्याठामा भियना होटल संचालन गरी बस्दै आइरहेको र हाल ६ महिनाको अध्ययन भिसामा रहेको भनेका छन्। उनले बरामद भएको रसिद र मोबाइल आफ्नो भएको स्वीकार गरेका छन्। तर तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक लि ह्यानसङ्गलाई आफूले नभेटेको उनको दाबी छ।
प्रहरीले बरामद गरेको उक्त रसिद चीन गएको बेला लि फुङ्गसी भन्ने चिनियाँ नागरिकले पठाएको र भाषा नबुझेपछि पेम्वा शेर्पालाई पठाएको दावाले बयानमा दाबी गरेका छन्।
प्रहरीले बरामद गरेको रसिदमा सुन तस्करीका लागि प्रयोग भएको भेपको खरिद र विमानस्थलबाट छुटाउनका लागि आवश्यक कुरा लेखिएको थियो। त्यसपछि पेम्वा शेर्पाले आफूलाई ४/५ महिना अगाडि एयरपोर्टमा ईलेक्ट्रिक सिगरेट (भेप) समातेको रैछ, यसको बारेमा सोधीखोजी नगर्नु भनेकोले मैले सो बारेमा कुनै चासो नलिएको पनि उनले बताए।
उक्त विद्युतीय चुरोटमा सुन लुकाइ–छिपाइ नेपाल ल्याएको बिषयमा आफूलाई कुनै पनि जानकारी नभएको भन्दै दावाले सबै आरोप अस्वीकार गरेका छन्। उनले यो प्रकरणमा आफूलाई धेरै कुरा जानकारी नभएको पनि उनले बयानमा दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।