काठमाडौं– जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानको सरुवा भएको छ। न्याय सेवा आयोगको बैठकले उनलाई सरुवा गर्ने निर्णय गरेको हो।
सहन्यायाधिवक्ता नेउपानेले केही समयदेखि काठमाडौंको नेतृत्व गरिरहेका थिए। उनको स्थानमा महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता सन्देश श्रेष्ठको नाम सिफारिस गरिएको छ। उनी यसअघि हेटौंडाको नेतृत्व गर्दै महान्यायाधिवक्ता कार्यालय आएका थिए।
नेउपानेको महान्यायाधिवक्ताको कार्यालयमा सरुवा भएको छ। न्याय सेवा आयोगको आइतबार बसेको बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सरकारी वकिलहरुको सरुवा गर्दा उनीहरुको सरुवा गरिएको हो।
सरुवा निर्णय सदर गर्न मन्त्रिपरिषद्मा पठाइएको छ। राजतत्रांकित प्रथम श्रेणीका अधिकारीहरुको सरुवा सम्बन्धी निर्णय गरेर आयोगले मन्त्रिपरिषद्लाई सिफारिस गरेपछि लागू हुने भएकाले आयोगले मन्त्रीपरिषदमा पठाएको हो।
मन्त्रिपरिषद्बाट निर्णय भएपछि यो कार्यान्वयनमा आउने छ। जिल्ला सरकारी वकिल कार्यालयले पछिल्लो समय ललिता निवासको जग्गा, सुन तस्करी प्रकरण र अब भेपमार्फत् सुन तस्करी गरेको मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।