काठमाडौं– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह गरेका छन्।
मंगलबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउँदै उनले राजनीतिक तहमा आधिकारिक निर्णय भन्दा बाहेक व्यक्तिगत वा पार्टीगत भ्रमण नगर्न आग्रह गरेका हुन्।
मन्त्री साउदले १० जना नेपालीहरुको ज्यान जानेगरी इजरायलमा भएका उक्त दु:खद् घटनाको संवेदनशीलतालाई राजनीतिक फाइदा वा बेफाइदाको रुपमा प्रयोग गर्ने काम कुनै पनि तहबाट नहुने विश्वाससमेत व्यक्त गरे।
इजरायलमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध र गम्भीर भएर लागेको उल्लेख गर्दै उनले सो काममा संसदीय समिति र त्यसमा रहेका सांसदहरुको पनि सकारात्मक सहयोगको अपेक्षा आफूले गरेको बताए।
मन्त्री साउदले सो घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरलाई समेत ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चार माध्याम र सामाजिक सञ्जालमार्फत् प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।