काठमाडौं– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राज्यको भाषाभन्दा अलग्गै भाषा बोल्नेहरु नै नेपालका आदिवासी भएको बताएका छन्। तमु प्ये ल्हु संघ केन्द्रीय समितिको ३१औं वार्षिक साधरण सभा तथा छैटौं अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले राज्यले मान्ने धर्मभन्दा फरक धर्म मान्ने मानिसहरु नै आदिवासी भएको बताए। उनले भने, ‘राज्यको भाषाभन्दा अलग्गै जसले आफ्नो भाषा बोल्छ, त्यो मानव समुदाय आदिवासी हो। त्यसकारणले हामी आदिवासी हौं। राज्यले मान्ने जुन धर्म छ, राज्यको धर्मभन्दा जसको अलग धर्म हुन्छ, त्यो आदिवासी हो। नेपालमा केही समय अघिसम्म हिन्दू धर्म राज्यको धर्म थियो। त्यसकारणले हिन्दू धर्म राज्यको धर्म भएकाले हाम्रो भने कसैले बौद्ध, कोही प्रकृति पूजा गरेर बसेको छ। राज्यको धर्म भन्दा अलग्गै धर्म मानेर बसेका धर्म संस्कार मानेका मानव समुदाय आदिवासी हो।’
उनले नेपालमा केही समयअघिसम्म हिन्दू धर्म राज्यको धर्म रहेको र तत्कालीन समयमा हिन्दू राजाले मान्ने धर्म नै हिन्दू धर्म भएको बताए। हिन्दू आर्य संस्कृतिको राजा भएकाले नेपालको राजकीय संस्कृति हिन्दू आर्य संस्कृति भएको दाबी गरे।
उनले राज्यको धर्मभन्दा अलग्गै धर्म संस्कार मानेका मानव समुदाय नै आदिवासी भएको बताए। आदिवासी अझै पनि जातीयतामा नगएको र जनजातिमै सीमित भएकाले आदिवासीमा सामूहिकता कायम रहेको बताए।
साथै उनले आफूहरु हिन्दू आर्य संस्कृतिभित्र नभएको र आफ्नै संस्कार रहेको बताए। जनजातिहरु जंगली युगबाट अलिकित माथि आएपछि कोपिला युग आएको र कोपिला युगबाट जनजाति युगमा पुगेको बताए।
उनले भने, ‘हामी जंगली युगबाट अलिकति माथि पुगेपछि कोपिला युग आयो, कोपिला युगबाट अलिकति माथि आएपछि जनजाति युग आयो, जनजाति युगपछि जातीय युग आउँछ। हामी जातीय युगमा पुगेकै छैनौं, कोपिला युगबाट अलिकति माथि उठेर जनजाति युगमा छौं। त्यसैले हामीमा सामूहिकता छ।’
उपमहासचिव गुरुङले आदिवासी समुदायमा एउटा नीति र थिति हुने र सबैलाई बराबर लगाएर काम गर्ने संस्कार रहेको बताए। उनले जसको मानव समुदायको लिखित इतिहास छैन त्यो नै आदिवासी भएको बताए। आदिवासीको इतिहास किंवदन्तीमा आधारित रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।