काठमाडौं– आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्न माग गरेका छन्।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले इजरायलमा नेपाल सरकारको कुटनीतिक असफलता भएको बताए।
कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा अहिले उद्धारमा ढिलाइ भइरहेको उनको भनाइ थियो। उनले सरकारले भागबण्डा गरेर राजदूत नियुक्ति गर्नाले असक्षम राजदूत नियुक्ति हुने गरेको बताए।
सांसद साहले इजरायलसँग कुटनीतिक असफलता व्यहोरेको भन्दै सरकारले आत्मालोचित हुनुपर्ने बताए।
यस्तै बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदूत चयन गर्दा कमजोरी बढेको बताए।
उनले इजरायल घटनामा पनि राजदूतावास र राजदूतको क्षमतामा प्रशस्त प्रश्न उठेको बताए। सरकारले समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको उनको भनाइ थियो।
उनले क्राइसिसको बेलामा क्षमताका कुराहरु बढी प्रमुख रुपमा देखिने गरेको भन्दै सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्ने बताए।
सांसद खनालले पीडित विद्यार्थीले पनि राजदूतावासमाथि प्रश्न उठाएको भन्दै संवेदनशील मुलुकमा कस्ता राजदूत पठाउने? भन्नेबारे सोच्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।