काठमाडौं– नेपाली कांग्रेसका संस्थापक नेता एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०५औँ जन्मजयन्ती नेपाली कांग्रेस र उसका भातृ संगठनले आज विभिन्न कार्यक्रम मनाउँदै छन्। नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रुपमा स्थापित कोइरालाको १९७१ भदौ २४ गते जन्म भएको थियो।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि जहानिया राणा शासनविरुद्ध कोइरालाले कठोर संघर्ष गरेका थिए। लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए।
कोइराला सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत हुन्। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिने कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। कोइरालाका दोषी चश्मा, तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदी आइन, हिटलर र यहुदी लगायतका कृति चर्चित छन्।
बीपीको २०३९ साल साउन ६ गते निधन भएको थियो।
यसैबीच बीपीको जन्मदिवशको अवसरमा कांग्रेस र पार्टी निकट भातृ संगठनले स्वदेश तथा विदेशमा आज विभिन्न कार्यक्रमको आयोजना गर्दै छन्। आज कांग्रेस केन्द्रीय कार्यालय, ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौं, भक्तपुर र ललितपुरले संयुक्त रुपमा विशेष कार्यक्रमको आयोजना गर्दैछन्।
त्यस्तै, काठमाडौंको सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमा पनि आज विशेष कार्यक्रमको आयोजना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।