काठमाडौं- वरिष्ठ संगीतकार गोपाल नाथ योगीको काठमाडौंमा निधन भएको छ। उनको परिवारका सदस्यका अनुसार उनी केही समयदेखि बिरामी थिए।
क्लासिकल भायोलिन वादक गोपाल नाथ योगीले लामो समयसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सेवा गरेका थिए। स्वर्गीय योगीले कुमारी, चंडालिका, अन्नपूर्ण लगायत झन्डै एक दर्जन प्राचीन नृत्य (ब्याले) हरुका लागि संगीत सिर्जना गरेका थिए।
उनले १०० भन्दा बढी इन्सट्रुमेन्टल अर्केष्ट्राहरुको पनि सिर्जना गरेका थिए। उनले सिर्जना गरेको एउटा रागलाई स्वर्गीय रानी ऐश्वर्यको सम्झनामा राग ऐश्वर्य नामाकरण गरिएको छ।
उनले गोर्खा दक्षिणबाहु दोश्रो, इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, नाट्य संगीत प्रज्ञा पुरस्कार लगायतका पुरस्कारहरु पाएका थिए।
नेपाली सांगीतिक टोलीका साथ झन्डै तीन दर्जन मुलुकहरुको भ्रमण गरेका उनले केही समय अमेरिकाको पोर्टल्याण्ड विश्वविद्यालय तथा ओरेगन विश्वविद्यालयमा पनि संगीतको प्रशिक्षण दिएका थिए। उनका छोरा विकास नाथ योगी पनि नेपालका चर्चित भायोलिन वादक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।