काठमाडौं– चेतन मानन्धरको हत्या अभियुक्त रिगल भनिने योग ढकालको कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्ध दायर रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्माको इजलासमा पेसी तोकिएको छ।
खुँडा प्रहार गरी मारिएका चेतनकी श्रीमती भारती मानन्धरले रिगल भनिने ढकालको कैद मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। यसअघि उक्त रिटमा २ पटक पेसी तोकिएकामा सुनुवाइ नहुने हुँदै सर्दै आएको थियो।
चेतनको २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी हत्या भएको थियो। चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगल भनिने योग ढकाल सत्तारुढ दल नेपाली कांग्रेसनिकट तरुण दलका नेता हुन्। यस वर्ष संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद सजाय मिहना गरेका थिए।
रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग रिटमा गरिएको छ। आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन भारतीले माग गरेकी छन्।
ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय पनि बदर गर्न पनि रिटमा माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।