काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुनको प्रभाव आज (बिहीबार)देखि कम हुने भएको छ। यसअघि बुधबारसम्म मनसुनको न्युन चापीय रेखा सरदर स्थानमा नै थियो। बिहीबार बिहानसम्म नेपालको मौसम प्रणालीमा भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
बिहीबार बिहानसम्म कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बिहीबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।