काठमाडौं– चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्ध अनसनरत भारती मानन्धर सर्वोच्च अदालत परिसरमा ढलेकी छन्। पतिका हत्या आरोपीलाई संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट माफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएकी भारती बुधबार दिउँसो तारिख लिएर फर्किने क्रममा ढलेकी हुन्।
भारतीले बुधबारदेखि काठमाडौंको माइतीघर मण्डलामा अनसन सुरु गरेकी छन्। उनले आफूले न्याय नपाएसम्म अनसन जारी राख्ने जनाएकी छन्।
भारतीका श्रीमान् चेतनको २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी हत्या भएको थियो। चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगल भनिने योग ढकाल सत्तारुढ दल नेपाली कांग्रेसनिकट तरुण दलका नेता हुन्। यस वर्ष संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद सजाय मिनाह गरेका थिए।
सरकारको रिगललाई माफी दिने सरकारको निर्णय खारेज हुनुपर्ने मागसहित भारतीले आइतबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।