काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा पुगेर बयान फेर्ने एक व्यक्तिलाई भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अख्तियारले घुस लिएको आरोपमा मुद्दा दायर भएका एक सरकारी कर्मचारीलाई उन्मुक्ति दिन अदालत पुगेर होस्टाइल भएपछि उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले यसरी मुद्दा दायर गर्ने व्यक्ति हुन् गोकर्णेश्वर नगरपालिका ज्ञानहरी लामा। उनले एक सरकारी कर्मचारी योगेन्द्र ढुंगेललाई सुरुमा घुस दिएको बयान दिएका थिए। सोही बयान र बरामद गरेको रकमसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
तर, लामाले अदालत पुगेपछि आफ्नो बयान फेरेर आफूले रकम कुनै नदिएको भनेका थिए। घुस–रिसवत मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरेका लामा नै होस्टाइल भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
लामाले आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयानको ब्यहोराको प्रतिकूल हुने गरी अदालतसमक्ष बकपत्र गरेको अभियोगपत्रमा उल्लेख छ। लामाले अनुमतिका पत्रको लागि एक लाख ५० हजार रुपैयाँ घुस–रिसवत दिएका थिए।
अख्तियारले सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। तर उनले नै बयान फेरेपछि भ्रष्टाचार निवारण ऐन २०५९को दफा ३ को उपदफा (२) बमोजिमको लामालाई नै कसुरदारको रुपमा मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।