काठमाडौं– शनिबार साँझ ६ :५० बजे पर्वतको कुश्मा नगरपालिका- ८ चुवास्थित मादी खोलामा आएको बाढीले बगाएको टाटा सुमो गाडीको २ वटा टायर र केही टुक्रा फेला परेको छ।
गाडीमा सवार बेपत्ता तीन जना व्यक्तिको अवस्था भने अज्ञात रहेको छ। बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी बगाएको थियो।
गाडीचका चालक भने सकुशल रहेका छन्। गाडीसहित बेपत्ता तीन जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
राती ८:४५ बजे घटनास्थलदेखि अन्दाजी २.५ किलोमिटर टाढा मादी र समादी खोलाको संगमस्थलमा गाडीको अगाडिको २ वटा टायरसहित छरिएर रहेका केही भागहरु लेदो माटोले पुरिएको अवस्थामा फेला परेका छन्।
उक्त सामग्री बाहिर निकालिएको सशस्त्र प्रहरी बलका सह– प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। बेपत्ता व्यक्तिहरुको खोज तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतबाट डीएसपीको कमाण्डमा ४६ जनाको फौज परिचालन गरिएको डिएसपी थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।