काठमाडौं– विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेषले उनीसहित २ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बास्तोला र डा खुशीप्रसाद थारुको इजलासले गुप्तासहित इञ्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गरेको हो।
विशेषले दुवैलाई एक लाख ४० हजार विगो र त्यति नै जरिवाना हुने ठहर गरेको छ। विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार दुवैलाई ६/६ महिना कैद हुने फैसला सुनाएको छ। उनीहरूमाथि एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेषले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
साहलाई अख्तियारको टोलीले २०७९ फागुनमा रंगेहात पक्राउ गरेको थियो। पछि मेयर गुप्ताले पनि घुस मागेको भेटिएपछि अख्तियारले गुप्तालाई पनि मुद्दा दायर गरेको थियो। शम्भुनाथ नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीबाट उनी निर्वाचित भएका थिए।
उनले ५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका थिए। त्यसअघिको स्थानीय तहको निर्वाचनमा कांग्रेसका योगेन्द्र चौधरीले २ हजार ७७८ मत ल्याएर गुप्तालाई पराजित गरेका थिए।
अख्तियारले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए भने नगरपालिका उप मेयर अनिताकुमार चौधरीले सम्हाल्दै आएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।