काठमाडौं- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ जियाओहुईसँग भेट गरेका छन्।
शुक्रबार छेन्दुमा सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष समेत रहेका वाङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री प्रचण्डले द्विपक्षीय भेटवार्ता गरेका हुन्।
भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी स्टेटमेन्टको स्मरण गर्दै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच सम्पन्न नयाँ व्यापार सन्धिले नेपाल अब भूपरिवेष्ठित देश होइन भूसम्बन्ध जोड्ने देश भएको बताएका थिए।
सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको र नेपाल-चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गरे। नेपाल र चीनबीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको समेत वाङले बताए।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल शनिबार छेन्दुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।