काठमाडौं– मोटरसाइकलको ब्रेक प्याडको रुपमा भित्र्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास गराइसकेको अवस्थामा बरामद भएको ६० किलो बढीको सुन तस्करी प्रकरणको मुद्दामा आज (शुक्रबार) प्रतिवादीका कानुन व्यवसायीले बहस गर्दैछन्। बिहान ११ बजेदेखि बहस सुरु हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।
यसअघि बुधबार सरकारी पक्षले बहस गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका ५ जना सह–न्यायाधिवक्ताहरुले बुधबार बहस गरेका थिए। काठमाडौं जिल्ला अदालतमा बुधबार नै प्रतिवादीहरुको बयान सकाएर थुनछेक बहस सुरु भएको थियो।
अदालतले मुद्दाको पुर्पक्षका लागि प्रतिवादीहरुलाई तारेख, धरौटी वा थुनामा राख्ने भन्नेबारे निर्णय सुनाउनका लागि भएको बहसमा पहिलो दिन (बुधबार) सरकारी पक्षले आफ्ना दाबीहरु पेस गरेको थियो।
बहस गरेका सरकारी वकिलहरुले अभियोगको बचाउ गर्दै पक्राउ परेर अभियोगपत्रसँगै पेस भएका सबै आरोपीलाई धरौटी वा तारेखमा रिहा गर्न नमिल्ने भएकाले पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए।
पक्राउ परेका व्यक्तिहरु नेपाली मात्र नभइ विदेशी नागरिक समेत भएको र एकभन्दा धेरै अभियोगका साथै संगठित अपराध समेतको दाबी लिइएकाले उनीहरुलाई पुर्पक्षका लागि थुनामै पठाएर मुद्दाको किनारा गरिनुपर्ने दाबी सरकारी पक्षले गरेको थियो। ठूलो मात्रामा सुन तस्करी भएको अनुसन्धानमा देखिएको र अझै पनि सुन तस्करी प्रकरणको अनुसन्धान चलिरहेकाले उनीहरुलाई थुनामै राख्नुपर्ने सरकारी वकिलहरुले तर्क गरेका थिए।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा भएको बहसमा सरकारी वकिलहरुले आरोपीहरु विदेशी र नेपाली नागरिक सबैलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए।
सरकारी पक्षको बहस बुधबार नै सकिएको थियो। बिहीबार इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्याकामा सार्वजनिक बिदा भएका कारण प्रतिवादी पक्षको बहस शुक्रबार मात्रै सुरु हुने भएको हो। प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी पक्षले पुन: जवाफी बहस गर्नेछ।
साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको गेट बाहिर एउटा ट्याक्सीलाई नियन्त्रणमा लिएर ब्रेक प्याडका रुपमा तस्करी गरी ल्याइएको सुन बरामद गरेको थियो। ब्रेक प्याडका स्वरुपमा बरामद भएको सुन पगालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो।
सुरुवमा राजस्व अनुसन्धान विभागले नै उक्त तस्करी प्रकरणको अनुसन्धान गरे पनि पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको थियो। सीआईबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।
अभियोगपत्रसँगै प्रतिवादीका रुपमा पेस भएका चिनियाँ नागरिकहरू याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङक, तिब्बती मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ र बेल्जियन नागरिक दावा छिरिङको पनि बयान जिल्ला अदालतले भाषा अनुवादक राखेर लिएको थियो। त्यस्तै, अन्य प्रतिवादीहरुसँग पनि बयान लिएर थुनछेक बहस सुरु गरिएको हो।
अदालती बयानमा अधिकांशले आरोप अस्वीकार गरेका छन्।
राजस्व अनुसन्धान विभाग तथा सीआईबीले गरेको अनुसन्धानका क्रममा पक्राउ परेका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको थियो। अदालतमा पेस भएका २६ जना प्रतिवादीको विपक्ष र प्रतिरक्षमा बहस हुने भएकाले थुनछेकको आदेश सुनाउन १ साताभन्दा बढीको समय लाग्ने अदालतको आकलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।