सुर्खेत– कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरेर काम भइरहेको बताएका छन्। भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका–९ गुर्भाकोट सुर्खेतमा उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताएका हुन्।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिँचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतका सामाजिक सेवा पुर्याउने उद्देश्यले सरकारले भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको उनले बताए। भेरीको मुहान डोल्पादेखि सुर्खेतको घाटगाउँसम्मको भेरी किनारका जनताका लागि भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार उद्घाटन गरेका हुन्।
‘डोल्पा, जाजरकोट, रूकुम, सल्यान र सुर्खेत जिल्लाका भेरी नदीसँग जोडिएका पालिकामा सडक, विद्युतीकरण, सिँचाइलगायतका सामाजिक सेवाका कार्यहरू गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको हो,’ कार्यवाहक प्रधानमन्त्री खड्काले भने, ‘भेरीको पानी बबईमा खस्नुअघिनै भेरी किनारका पालिकामा उद्देश्य अनुसारका कामहरू सम्पन्न गर्छौं।’
कार्यवाहक प्रधानमन्त्री खड्काले आयोजनालाई तीव्रताका साथमा अघि बढाउन निर्देशन समेत दिए। भेरी–बंबई आयोजनासँगै भेरी करिडोर सिँचाइ विकास आयोजना सञ्चालन गरिएको थियो।
सुरूमा एक सय २५ किलोमिटर क्षेत्रमा काम गर्ने गरेर सुरू गरिएको भएपनि अहिले स्थापना गरिएको कार्यालयले डोल्पादेखि सुर्खेतसम्म काम गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।