काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन छानबिन जाँचबुझ आयोग गठनमा सरकारले सहमति उल्लघंन गरेको आरोप लगाएको छ।
साउन २ गते एयरपोर्टबाट बाहिरेको ठूलो परिणामको सुन सिनामंगलबाट प्रकाउ परेको थियो। एयरपोर्टमा खटिएका अधिकारीहरुको चरम लापरबाही र मिलोमतोको कारण सुन बाहिरिन सफल भएकोले गृह र अर्थमन्त्रीको राजीनामा माग्दै प्रमुख विपक्षी दल एमाले लगायतका दलले संसद् अवरोध गरेका थिए।
त्यसअघि त्यस्तै प्रकरणमा माओवादी नेताहरुको नाम पनि मिसिएकोले छानबिनका लागि बेग्लै आयोग गठनको माग राख्दै संसद् अवरोध भएको थियो। त्यसपछि सरकार र दलहरुबीच भदौ ६ गते आयोग गठन गर्ने सहमति भएको थियो। त्यसका लागि सीआईबीले असोज ५ गतेसम्मको हदम्यादमा अनुसन्धान सक्ने र त्यसपछि आयोग गठन गर्ने सहमतिपछि संसद् अवरोध टरेको थियो।
तर, सहमति अनुसार सरकारले असोज ५ पछि पनि आयोग गठन गर्ने तदरुकता नदेखाएपछि रास्वपाले सरकारले सहमति उल्लंघन गरेको आरोप लगाएको हो।
‘भदौ ६ गते राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच सुन तस्करी प्रकरणको थप छानबिनका लागि असोज ५ गते उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो। तर सरकारले निर्धारित मितिमा समिति गठन नगरेर सहमति उल्लंघन गरेको छ,’ रास्वपाको बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त आरोप लगाएको हो।
उसले सरकारलाई सो सहमति कार्यान्वयन गर्न पनि आग्रह गरेको छ। ‘यो बैठक उक्त सहमतिमा हस्ताक्षरकर्ता दलको नाताले भदौ ६ गतेको सहमतिअनुसार अगाडि बढ्न दलहरुलाई आग्रह गर्दै उच्चस्तरीय समिति तत्काल गठन गरी कार्यादेश तोक्न सरकारसँग माग गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।