काठमाडौं– बुधबार मध्य घाममा बबरमहलको सडक सेतो एप्रोन लगाएका चिकित्सकहरूले भरिएको थियो। उनीहरू सडकमा उभिएर आफ्नो सुरक्षाको माग गरिरहेका थिए।
पछिल्लो समय हस्पिटलहरूमा चिकित्सकमाथि निरन्तर आक्रमण र कुटपिट भइरहेका छन्। सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि डा अनिल शाहमाथि कुटपिट भयो। त्यसपछि अशान्त बनेको अस्पतालमा अन्य चिकित्सक पनि आक्रमणकारी र प्रहरीबाट प्रताडित भए।
प्रहरी निरीक्षक मदन श्रेष्ठले गर्व साथ ‘डाक्टरलाई चुटेर रगतै रगत बनाएँ’ भन्दै भीडलाई उत्तेजित बनाए। सोमबार मात्र हैन, यसअघि पनि लगातार डाक्टर कुटिएको कुराले मेडिकल क्षेत्र र चिकित्सकहरू त्रसित छन्।
अहिले काठमाडौं सँगै चितवन र पोखरा लगायत केही ठाउँमा चिकित्सकहरू आन्दोलित छन्।
प्रसूतिगृहमा कार्यरत डा सीता ढकाल भर्खरै इमर्जेन्सीको ड्युटी सकाएर आन्दोलनमा आइपुगेकी थिइन्। ड्युटीमा आजकल सीता आफू सुरक्षित भइरहेको पाउँदिनन्।
‘इमर्जेन्सीमा बिरामीका आफन्तले मप्रति गर्ने व्यवहार पहिलाजस्तै सम्मानजन पाइरहेकी छैन। सानो कुरामा ढिला हुँदा पनि हप्काइ खानुपर्छ। केसअनुसार प्राथमिकतामा राखेर उपचारमा लागिरहेका हुन्छौँ। सामान्य अवस्थाका बिरामीका आफन्तबाट काम गर्दागर्दै हप्काइ खानुपर्छ,’ उनी भन्छिन्, ‘ त्यसैले आजकल सेवा गर्ने हाम्रा हात काँपिरहेका छन्। हाम्रो आत्मबल गिरिरहेका छन्।’
बेला बेलामा बिरामीका आफन्तहरूबाट उनले अपमानजनक शब्द सुन्नुपरेको छ। यस्तो घटनाले देशमा केही गरौँ भन्ने उत्साह पनि मर्दै गएको उनी बताउँछिन्।
डा सीताका अनुसार उनीसँगै पढेका ९० प्रतिशत साथीहरू अहिले देशबाहिर छन्। देशमै सेवा गर्छु भनेर बसेका आफूहरूको आत्मबल कमजोर भएको अनुभूति उनलाई हुन्छ।
उनी सरकारलाई आग्रह गर्दै भन्छिन्, ‘सरकार आँखा खोल। एकदमै ढिलो भइसक्यो। हाम्रो समाज नेगेटिभ मान्छेहरूले भरिइसक्यो।’
निको भएको छैन कुटिनेको घाउ
डा सुधाकर झा कोभिड महामारी पहिलो चरणमा नेपाल भित्रिँदा विर्तामोडको बिएण्डसी हस्पिटलमा मेडिकल अफिसरका रुपमा कार्यरत थिए।
त्यतिबेला इमर्जेन्सी गेट अगाडि मास्क नलगाई एक हुल मानिस होहल्ला गरिरहेका थिए। बाहिर हल्ला नगर्न आग्रह गर्दा उनलाई ८/१० जनाले एकैपटक प्रहार गरे। हेलमेटले टाउकोमा हान्ने प्रयत्न गरे। जाथाभावी हान्दा हात र अनुहारमा चोट लाग्यो।
त्यो क्षण सम्झँदा अहिले पनि त्रसित हुन्छन् उनी। ‘शरीरमा लागेको चोट त निको भयो होला। तर मनमा लागेको चोट नराम्रोसँग बिझाइरहन्छ,’ डा सुधाकर भन्छन्।
अहिले डाक्टरहरूमाथिको कुटपिट दोहोरिरहँदा पेसाप्रति नै निराश भइने उनी बताउँछन्। अहिले सुधाकर वीर अस्पतालको जनरल सर्जन वार्डमा कार्यरत छन्। उनलाई अहिले पनि बिरामीका आफन्तहरूलाई बुझाउन डर लाग्छ। ‘उपचारको बेला होस् वा भिजिटरलाई बुझाउँदा। पहिलाको कुरा फेरि ब्यूँतने हो कि भन्ने डर लागिरहन्छ,’ उनी भन्छन्।
सुरक्षा चाहन्छन् चिकित्सक
डाक्टरहरूको आन्दोलनको प्रमुख माग हो– सुरक्षा।
नेपाल मेडिकल कलेजमा कार्यरत डा प्रदीप प्रजापति अहिले दण्डहीनताको पराकाष्ठ खेपिरहेको ठान्छन्।
कतिपय बेला सम्पूर्ण ज्ञान र सीप लगाउँदा पनि बिरामी बचाउन नसकिने उनी स्वीकार्छन्। ‘तर आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्न खोज्दाखोज्दै कुनै अप्रिय घटना घट्दा जनमानसमा दोषी देखाएर सांघातिक रुपमा हमला गर्ने र मानसिक तनाब दिने अहिलेको डरलाग्दो अवस्था हो,’ उनी भन्छन्।
यस्तै अवस्था आइरहे बाँकी डाक्टर पनि पलायन हुने अवस्था आउने उनी बताउँछन्।
काठमाडौं मेडिकल कलेजमा कार्यरत डा सागर काफ्ले डाक्टरहरूले गल्ती गरे कारबाहीका लागि कानुनी प्रावधान भएको बताउँछन्। तर यहाँ ज्यान बचाउन लागिपर्ने डाक्टरले नै कुटाइ खाएर प्रतिकूल वातावरण बनेको उनी बताउँछन्। ‘मान्छे मार्नेलाई चाहिँ सम्मान गर्ने। तर मर्न लागेको मान्छे जोगाउने डाक्टरलाई चाहिँ कुटपिट गर्ने?’ उनको गुनासो छ।
सागरले डाक्टरहरूको आन्दोलनलाई ‘ह्वाइट कोट रेभोलुसन’को रुपमा अगाडि बढाउनुपर्ने समेत बताए।
‘हस्पिटल शान्ति क्षेत्र हो। यहाँ हुल हुज्जत गर्न मिल्दैन। हाम्रो अहिलेको माग भनेकै यदि कसैले स्वास्थ्यकर्मीमाथि हातपात गर्छ भने उसलाई जेल चलान हुनुपर्छ। नयाँ ऐन अनुसारको कारबाही हुनुपर्छ। र हामीले निर्धक्क उपचार गर्न पाउनुपर्छ,’ उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।