काठमाडौं– आइसीसी एक दिवसीय विश्वकप लिग दुई अन्तर्गत यूएईलाई नेपालले २ सय ३४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कप्तान रोहितकुमार पौडेलको शतकीय इनिङ्समा नेपालले ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाउन पुग्यो ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालको खराब सुरुवात भए पनि रोहितले पारी सम्हालेर टोलीलाई अगाडि बढाएका थिए । पौडेलले पाँच चौका र २ छक्काको सहयोगमा १०९ रनको योगदान दिए ।
यससँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालको पहिलो खेलाडी बनेका छन् । रोहितले बिहीबार दुबईमा भइरहेको विश्वकप लिग २ क्रिकेटमा यूएईविरुद्ध १ सय ९ रन बनाउँदै यो उपलब्धि छोएका हुन् ।
यसअघि रोहितसँगै पारस खड्का, कुशल भुर्तेल, अनिलकुमार साह, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । सन् २०१९ मा पछिल्लो पटक यस मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा कप्तान पारसले शतक बनाएका थिए, जुन नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक पनि थियो ।
रोहितले २०२२ मा पपुवा न्यु गिनीविरुद्ध १ सय २६ रन बनाएका थिए, जुन नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक स्कोर हो । रोहितले कप्तानको रूपमा एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएका हुन् ।
रोहित यसअघि दुई पटक नाइनटिजको स्कोरमा रोकिएका थिए । २०२२ मा उनले कीर्तिपुरमा स्कटल्यान्डविरुद्ध अविजित ९५ रन बनाएका थिए । त्यस्तै गत वर्ष डालासमा अमेरिकाविरुद्ध ९६ रन बनाई इनिङ्सको अन्तिम बलमा आउट भएका थिए ।
रोहित बाहेक बिहीबारको खेलमा नेपालबाट भुर्तेल ७, आसिफ शेख ३५, भीम सार्की ३, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरी २३, सोमपाल कामी ६, करण केसी १३ रन बनाई आउट भएका थिए । गुलशन झाले खाता खोल्न सकेनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।