काठमाडौं– कृषि गणना २०६८ (अघिल्लो) तथ्यांकअनुसार २२ प्रतिशत कृषक परिवारले आफ्नो कृषि कार्यमा ट्याक्टर प्रयोग गरेका थिए। २०७८ को गणनामा यस्ता कृषक परिवार झन्डै दोब्बर भएर ४० प्रतिशत पुगेका छन्।
जसअनुसार नेपालमा कृषिमा यान्त्रिकरण बढ्दै गएको देखिन्छ। तर कृषिजन्य वस्तुमा देश आत्मनिर्भर हुन नसकेको कृषि गणनाको तथ्यांकले बताउँछ। ४१ लाख ३१ हजार घरपरिवार कृषिमा आबद्ध छन्। २२ लाख १८ हजार हेक्टर क्षेत्रफलमा खेती हुन्छ। जसमध्ये ६९ प्रतिशतले आफ्नो घरायसी प्रयोजनका लागि मात्रै कृषि गरिरहेका छन्। बिक्रीका लागि उत्पादन गर्ने कृषक १ प्रतिशत मात्रै छन्।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिक श्रीमद श्रेष्ठले अहिलेको कृषि गणनाअनुसार कृषि उपकरण उपयोग गर्ने कृषकको संख्या बढे पनि सबैको पहुँचमा पुग्न नसकेको बताए। कृषिमा यान्त्रिकरण प्रवर्दन नीति ल्याइएको भए पनि नीति अनुसार काम गर्न नसक्दा सबैको पहुँचमा कृषि यन्त्र पुग्न नसकेको उनको भनाइ छ।
नेपालमा प्रयोग भएका उपकरणको गुणस्तरमासमेत समस्या देखिँदा मर्मत गर्न पनि कठिन छ। उपकरण सिधै बाहिरबाट ल्याउँदा सस्तो पर्ने तर नेपालमा त्यसका पार्टपुर्जा नपाइने र आयात गर्दा चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ।
‘उपकरणका पार्टपुर्जा ल्याउँदा महंगो भ्याट तिरेर ल्याउनुपर्छ। तर उपकरण नै ल्याए भ्याट लाग्दैन। कहाँ ४० प्रतिशत कहाँ १ प्रतिशत यो आकाश पातालको फरक छ,’ उनले भने, ‘नेपालमा उत्पादन हुने उपकरणहरु महंगो पर्छ। बाहिरबाट ल्याइएका उपकरण सस्तो पर्छ। सरकारले यस्तो नीति परिवर्तन गर्नु पर्छ र स्वदेशी उत्पादन उपकरणको प्रयोगलाई जोड दिनुपर्छ,’ उनले भने।
७ लाखले उपयोग गर्छन् फलामे हलो
०७८ को कृषिगणना ७ लाख ३ हजार अर्थात् १७ प्रतिशत कृषकले आधुनिक फलामे हलो प्रयोग गर्छन्। हलोको संख्या ५ लाख १० हजार रहेको छ। अघिल्लो कृषि गणनाअनुसार १० लाख ७३ हजार वा २९ प्रतिशत कृषकले आधुनिक फलामे हलो प्रयोग गरेका थिए। त्यतिबेला हलोको संख्या ८ लाख ५६ हजार थियो।
अघिल्लो कृषि गणनाअनुसार ८ लाख ४५ हजार कृषक परिवारले आफ्नो कृषि कार्यमा ट्याक्टर प्रयोग गरेका थिए। २०७८ को गणनामा यस्ता कृषक परिवार झन्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेका छन्। अघिल्लो गणनाअनुसार कृषक परिवारसँग भएको ट्याक्टरको संख्या ३७ हजार थियो। कृषि गणना ०७८ मा बढेर ५८ हजार पुगेको देखाएको छ।
कृषि गणना ०७८ अनुसार नेपालभर जम्मा ४ लाख ७१ हजार (११ प्रतिशत) कृषक परिवारले पावर ट्रेलरको प्रयोग गरेका छन्। गणनाको दिनमा पावर ट्रेलर/मिनी ट्रेलर संख्या एक लाख १८ हजार छ। अघिल्लो कृषि गणनामा नेपालभर जम्मा ७६ हजार वा २ प्रतिशतमात्रै थिए भने प्रयोग गर्ने घर परिवारको संख्या १० हजारमात्रै रहेको थियो।
थ्रेसर उपयोग गर्ने बढे
अघिल्लो कृषि गणनामा थ्रेसर प्रयोग गर्ने कृषक परिवार ८ लाख ३ हजार थिए। कृषकसँग यस्ता औजार ५२ हजार वटा थिए। कृषिगणना ०७८ अनुसार उक्त औजार प्रयोग गर्ने कृषक परिवार ११ लाख ७५ हजार पुगेका छन्। यी थ्रेसरको संख्या १ लाख १५ हजार पुगेको छ।
०७८ को कृषि गणनाअनुसार ९१ हजार कृषक परिवारले पम्पिङ सेट मोटर र ११ लाख ५१ हजार कृषकले स्प्रेयर प्रयोग गरेका छन्। यी परिवारसँग करिब ४ लाख पम्पिङ सेट र ७ लाअ ७० हजार स्प्रेयर रहेका छन्। अघिल्लो गणनाअनुसार ५ लाख ४८ हजार कृषक परिवारले पम्पिङसेट र ५ लाख ७४ हजारले स्प्रेयर प्रयोग गरेका थिए। सो गणनामा यस्ता औजार कृषकसँग १ लाख ५० हजार पम्पिङ सेट र २ लाख ८२ हजार स्प्रेयर रहेको थियो।
०७८ को गणना अनुसार ३० हजार कृषकले दूध दुहुने मेसिन प्रयोग गर्छन् र यस्ता मेशिन ३ हजार ४ सय छन्। पछिल्लो अध्ययन अनुसार कृषिमा यन्त्रको प्रयोग बढ्दो छ। तर पनि कृषि क्षेत्रको अवस्था झन खस्किँदो रहेको राष्ट्रिय कृषि मेशिनरी परीक्षण तथा अनुसन्धान केन्द्रका प्रतिनिधि रामनाथ झा बताउँछन्।
‘कृषिमा सबैभन्दा बढी जनसंख्या आबद्ध छन्। तर कृषिजन्य वस्तु आयात गर्नुपरेको छ। सबै किसानको पहुँचमा यन्त्र पुगिसकेको छैन। किसानले समयमा मल नै पाउँदैन। जबसम्म कृषिमा यान्त्रिकरण हुँदैन तबसम्म कृषिमा आत्मनिर्भर हुन सकिँदैन,’ उनले भने।
नेपालको कृषिलाई आधुनिक प्रणालीमा लैजान कृषि औजार आवश्यक रहेको उनले बताए। यस्तै उनले कृषिक्षेत्रको विकासका लागि गुणस्तरीय कृषि उपकरणको प्रयोगमा जोड दिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।