न्युयोर्क– अमेरिकी म्याडिसन किजलाई पराजित गर्दै जापानी टेनिस खेलाडी नाओमी ओसाका पहिलो पटक युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन्।
जितसँगै उनी कुनैपनि ग्रान्डस्लाम टेनिसको फाइनलमा प्रवेश गर्ने पहिलो जापानी खेलाडी बनेकी छिन्।
यसअघि २० वर्षीया ओसाका किजविरुद्ध खेलेका ३ ओटै स्पर्धामा सफल भएकी थिइनन्। तर आज न्युयोर्कको फ्लसिङ मिडोजमा भएको खेलमा भने किजविरुद्ध उनले सोझो सेटमा जित हात पारिन्।
अाेसाकाले पहिलो सेट ६–२ ले आफ्नो पोल्टामा पारेकी थिइन्। किजले दोस्रो सेटमा लयमा फर्किने सम्भावना देखाएपनि ओसाकाका अघि उनी ६–४ ले स्तब्ध बनिन्।
शनिबार उपाधीका लागि उनले २३ पटक ग्रान्डस्लाम उचालेकी सेरेना विलियम्ससँग खेल्नेछिन्।
जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै ओसाकाले खेलका दौरानमा आफूलाई सहज नभएको बताइन्। उनले भनिन्, ‘मैले सोचिरहेको थिएँ की, म वास्तवमै सेरेनासँग खेल्न चाहिरहेको छु। किनकी उनी सेरेना हुन्।’
यसअघि बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सेरेनाले विश्व बरियतामा १८औं स्थानमा रहेकी लात्भियाकी अनास्तासिजा सिभास्तोभालाई सोझो सेटमा पाखा लगाउँदै अन्तिम २ मा स्थान बनाएकी थिइन्।
चाखलाग्दो कुरा त के छ भने सेरेनाले सन् १९९९ मा पहिलो ग्रान्डस्लाम उपाधी हात पार्दा ओसाका मात्र एक वर्षकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।