काठमाडौं– विशेष अदालतले पूर्व पर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ।
विशेष अदालले उनलाई सार्वजनिक पदमा रहँदा त्यसको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको र सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको भन्दै भ्रष्टाचार निवारण ऐन अनुसार कैद, बिगो र बिगो बमोजिम जरिवाना गर्ने फैसला गरेको हो।
खिलराज रेग्मीको नेतृत्वमा स्वच्छ छविको भनी पर्यटनमन्त्री भएका श्रेष्ठको आर्जन अस्वाभाविक देखिएपछि अख्तियारले अनुसन्धान थालेको थियो।
विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले उनको सम्पत्ति र वैधानिक रुपमा आर्जन गरेको सम्पत्तिकाबीचमा स्रोत पुष्टि हुन नसकेको भन्दै भ्रष्टाचारी ठहर गरेको हो।
विशेषले भ्रष्टाचार निवारण ऐन अनुसार ६ महिना कैद हुने फैसला गरेको छ। त्यस्तै ९८ लाख २५ हजार ५ सय रुपैयाँ बिगो र सोही बराबर जरिवाना गर्ने फैसलासमेत सुनाएको छ।
अख्तियारले श्रेष्ठविरुद्ध २०७८ फागुन १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले उनीविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दाबी गरेको थियो।
नेपाल सरकारको पूर्वसचिवसमेत रहेका श्रेष्ठ रेग्मी नेतृत्वको सरकारमा मन्त्री भएपछि विवादमा पनि परेका थिए। उनी कर्जाको कालो सूचीमा परेको विवाद सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।