काठमाडौं- असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंक्वेटमा स्टार्टअप एण्ड आइडिया फेस्टसँगै स्टिम क्याम्पको आयोजना हुने भएको छ। लिभिङ विथ आइईसीटीको मुख्य आयोजनामा हुने कार्यक्रममा सातै प्रदेशका स्टार्टअपहरुले सहभागिता जनाउनेछन्। उक्त फेस्टमा सय बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुनेछ।
आईसीटी अवार्ड २०२३ को प्रिइभेन्ट क्याम्पियनको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहनेछ। आईसीटी अवार्ड २०२३ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनी गर्नेछन्।
यसैगरी आयोजकले सातै प्रदेशबाट छनोट गरेर ल्याएका ३० बढी स्टार्टअपहरुको पनि यस कार्यक्रममा सहभागिता रहनेछ। यसैगरी स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रिडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राख्नेछ।
स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केहि नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवद्धन गर्न आयोजना गरिएको लिभिङ विथ आईसीटीको अध्यक्ष राजन लम्सालले बताए। यस कार्यक्रममा प्रर्दर्शनीमा सहभागी हुने एक्जिविटर र अवलोकनकर्ताले कुनै शुल्क तिर्नु पर्दैन।
दुई दिने प्रदर्शनीसँगै काठमाडौं बाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरु सञ्चालन हुनेछ। यस कार्यक्रममार्फत स्टार्टअप र आइडियामा लगानी गर्न चाहनेहरुलाई पनि आयोजकले सहकार्य र इकोसिस्टमको लागि आह्वान गरेको छ।
आईसीटी अवार्ड २०२३ को नोमिनसन र छनोट प्रक्रिया प्रक्रिया सञ्चालनमा छ। विभिन्न चरणको छनोटपश्चात् उत्कृट १२ मा पर्न सफल स्टार्टअपहरुले पनि यस कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवद्धन गर्न सक्नेछन्। अवलोकनकर्ताले आफूलाई मन परेका स्टार्टअप र प्रडक्टलाइ भोट पनि गर्न सक्नेछन्। आईसीटी अवार्डका विभिन्न १३ विधामा ५०० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।