काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार आइतबार राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।