काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह निर्विरोध चयन भएका छन्।
शुक्रबार राति अध्यक्षमा चन्द निर्विरोध चयन भएका हुन् भने शनिबार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन भएका हुन्।
त्यस्तै अन्य पदाधिकारी चयनका लागि भने शनिबार दिउँसोबाट मतदान सुरु भएको छ। चन्दकै प्यानलबाट कोषाध्यक्षमा उठेका पदमबहादुर खड्का पनि निर्विरोध भएका छन्।
सचिवमा भने पूर्व क्रिकेटर पारस खड्का र प्रशान्तविक्रम मल्ल प्रतिष्पर्धामा छन्। निर्विरोध अध्यक्षमा चयन भएसँगै अध्यक्ष चन्दले आफ्नो यो कार्यकालको तीन महिनाभित्र नै घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्ने आवश्यकता रहेको बताए।
उनले भारत र पाकिस्तान जस्तै नेपाली टोलीलाई पनि त्यो स्तरसम्म पुर्याउनुपर्ने चुनौती रहेको बताए। उनले सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न आवश्यक बताए।
उनले भने, ‘पहिलो तीन महिनाभित्रै आन्तरिक स्ट्रक्चरलाई हामीले प्लानसहित अघि बढ्नेछौं। भारत र पाकिस्तानसँग खेल्यौं अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशिला खडा गर्नुछ। त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नु छ, र सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी छ।’
उनले पद पाएसँगै जिम्मेवारी बढेको महसुस भएको बताए। उनले अघिल्लो कार्यकाल भन्दा यस पटक केही नयाँ किसिमबाट राम्रो गर्ने प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।