काठमाडौं– संसदीय समितिले अति विशिषट (भीभीआईपी) र विशिष्ट (भीआईपी)लाई दिइएको सुरक्षासहित अन्य सुविधाहरु हटाउन निर्देशन दिएको छ। भीभीआईपी र भीआईपीलाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत (पीएसओ), सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न समितिले सरकारलाई निर्देशन दिएको हो।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकले यस्तो निर्देशन दिएको हो। समितिले उनीहरुलाई फिर्ता गरी दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि भनेको छ।
यस्तै, सरकारका मन्त्री तथा पदाधिकारीहरुले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरु प्रयोग गरेको भए सो पनि फिर्ता गर्न समितिले निर्देशन दिइएको छ।
समितिको बैठकले गरेको निर्णयबारे जानकारी दिँदै समिति सभापति रामहरी खतिवडाले भने, ‘नियमानुसार भीभीआईपी र भीआईपीहरुलाई प्राप्त हुने सुविधा बाहेकका अन्यलाई मापदण्ड विपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरु कुल कति छन्, र मापदण्ड विपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरु १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरियो।’
सरकारले सार्वजनिक बिदाका दिन कार्यालय सञ्चालन गर्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन नभएकोबारे समितिले ध्यानाकर्षण गराएको छ। समितिले बिदाको दिन कार्यालय खोल्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ।
‘सुशासन कायम राख्नका लागि सार्वजनिक बिदाका दिन अफिस खोल्ने निर्णय भएको सुनिन आएको थियो। नेपाल सरकारले गरेका निर्णयमा आर्थिक सहयोगको निर्णय चाहिँ तुरुन्त कार्यान्वयन हुने, अरु निर्णय अलि पछि–पछि कार्यान्वयन हुने हुँदा यसलाई पनि बिदाको दिन अफिस खोल्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिने निर्णय भएको छ,’ सभापति खतिवडाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।