काठमाडौं– साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा नेपाल फराकिलो अन्तरले विजयी भएको छ। प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै ३ अंक जोडेको हो।
बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा नेपालका लागि पहिलो गोल खेलको २१ मिनेटमा अनन्त तामाङले गरेका थिए। पहिलो हाफको खेलमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा भने ३ गोल थपेको थियो। एकपक्षीय देखिएको खेलमा नेपालका विमल घर्तीमगरले ७१ मिनेटमा पेनाल्टी मिस गरेपनि रिवाउन्ड बललाई सुनील बलले सदुपयोग गरेका हुन्।
त्यसको ८ मिनेटपछि नै भरत खवासले अर्को गोल थप्दै खेललाई ३–० को अवस्थामा ल्याइपुर्याए.
खेल सकिन २ मिनेट बाँकी रहँदा कर्नर बललाई सुन्दर हेड गर्दै निराजन खड्काले बललाई गोलपोष्टको दिशा दिएका थिए।
यसअघि प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो। अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपालले गोल खान पुगेको थियो।
पहिलो खेलमा हार बेहोरेका कारण पनि आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाव थियो। जितसँगै नेपलको सेमिफाइनल सम्भावना बढेर गएको छ। समूह ‘ए’ अन्तर्गत पाकिस्तान र आयोजक बंगलादेशले आफ्नो पहिलो खेल जित्दै समान ३ अंक बटुलिसकेका छन्। यसअघि बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई हराएको थियो।
नेपाल प्रतियोगिताको कम्तिमा सेमिफाइनल पुग्ने तथा उपाधि जित्ने लक्ष्यसहित बंगलादेश गएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।