काठमाडौं– आमिर खानको घरमा यतिबेला उत्सव छाइरहेको छ। उनकी छोरी आयरा आफ्नी मंगेतर नुपुर शिखरेसँग विवाह बन्धनमा बाँधिन लागेकी छन्।
विवाहको मितिदेखि कार्यक्रम स्थल र पाहुनाको सूचीसम्म सबै तयारी सुरु भएको छ। आमिर खान छोरीको विवाहलाई लिएर निकै उत्साहित छन्।
आयरा खानले गत नोभेम्बरमा प्रेमी नुपुर शिखरेसँग इन्गेजमेन्ट गरेकी थिइन्। दुवैको यो समारोह निकै गोप्य राखिएको थियो।
जनवरी ३ मा नुपुर शिखरेसँग पहिलो पटक अदालती विवाह गर्ने बताइएको छ। यसपछि दुवैले परम्परा अनुसार विवाह गर्ने छन् । विवाह समारोह तीन दिनसम्म चल्नेछ। परिवार र केही विशेष साथीहरू यस उत्सवमा सहभागी हुनेछन्।
आयरा खानको विवाह निकै निजी हुने भएको छ। बलिउडका कोही पनि उत्सवमा सहभागी हुने छैनन्।
आयरा आमिर खान र उनकी पहिलो पत्नी रीना दत्तकी छोरी हुन्। आमिरको भावी ज्वाइँ नुपुर शिखरे पेशाले फिटनेस ट्रेनर हुन्। जिम ट्रेनिङका क्रममा आयरा खानले उनलाई भेटेकी थिइन्।
आयरा उनको फिटनेसबाट निकै प्रभावित भइन्। ट्रेनिङका क्रममा उनीहरु दुवै पहिले साथी बने र पछि एकअर्कालाई डेट गर्न थाले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।