काठमाडौं– लामो समयको अन्तरालमा सुरु भएको नाडा अटो शोमा विद्युतीय सवारीको बाहुल्यता रहेको पाइएको छ। शोमा आउने ग्राहकमा पनि विद्युतीय सवारीप्रति आकर्षण बढेको व्यवसायीहरु बताउँछन्।
यस शोमा पेट्रोलबाट चल्ने भन्दा विद्युतीय सवारीप्रति ग्राहक बढी आकर्षित भएको व्यापारीहरुको भनाइ छ। अघिल्ला शोहरुमा विद्युतीय सवारीप्रति ग्राहक खासै रुचि नभएको तर यो पाली विद्युतीय सवारीको माग बढेको उनीहरुको भनाइ छ।
मंगलबारदेखि सुरु भएको यस शोमा पेट्रोलियम चारपांग्रे सवारीका साथै दुई पाङ्ग्रे सवारीसमेत राखिएका छन्। प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधनसहित लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरु सहभागी छन्।
प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुले सहभागिता छ।
ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा छ। ६ दिनसम्म चल्ने उक्त नाडा अटो शो ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने आयोजकको अनुमान छ।
उक्त शोमा १२० वटा स्टलहरु छन्। ४५ वटा सवार साधनका ब्राण्डहरु सहभागी नाडामा प्रदर्शनीमा मोटर पार्टस् र बैंकिङसहित करिब १२० वटा स्टल र ब्लकहरु रहेको आयोजकले जनाएको छ। यसअघि यस्तो शो २०७६ सालको भदौमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।