लिबिया– लिबियामा आएको बाढीमा कम्तीमा ५ हजार मानिसको मृत्यु भएको छ। बाढीमा १० हजार व्यक्ति हराइरहेका छन्। बाढीले नदीका बाँधहरू भत्काएर पूर्वी तटीय सहरलाई तहसनहस पारेको छ।
लिबियामा आएको विनाशकारी बाढीले गरेको विनासबारे विश्वव्यापी चिन्ता फैलिँदै जाँदा धेरै राष्ट्रहरूले युद्धग्रस्त देशलाई मद्दत गर्न तत्काल सहायता र उद्धार टोलीहरू पठाउने प्रस्ताव गरेका छन्। संयुक्त राष्ट्र संघका एक अधिकारीले ‘ठूलो अनुपातको विपत्ति’ भनेका छन्।
करिब एक लाख मानिस बसोबास गर्ने भूमध्यसागरीय तटीय शहर डेर्नामा बाढीले ठूलो विनाश निम्त्याएको छ। नदी किनारमा रहेका बहुतले भवनहरू ढलेका छन्। घर र सवारीका साधनहरु पानीको उग्र वहावसँगै विलिन भएका थिए।
आपतकालीन सेवाहरूले डेर्नामा मात्र २ हजार ३०० भन्दा बढीको मृत्यु भएको प्रारम्भिक रिपोर्ट गरेका छन्। यद्यपि त्यहाँका अधिकारीलाई उद्धृत गर्दै स्थानीय टेलिभिजनहरुले मृत्यु हुनेको संख्या ५ हजार ३०० पुगेको बताएका छन्।
त्रिपोलीस्थित रेस्क्यु एण्ड इमर्जेन्सी सर्भिसका ओसामा अलीले भने, ‘डेर्नाको अवस्था अकल्पनीय र डरलाग्दो छ। हामीलाई जीवन बचाउन थप सहयोगको आवश्यकता पर्नेछ। त्यहाँ अझै पनि भग्नावशेषमुनि मानिसहरू छन् र प्रत्येक मिनेटको गणनासँगै उनीहरूको जीवित वा मृत सङ्ख्यामा गणना हुनेछ।’
ग्रीस, बुल्गेरिया र टर्कीमा आइतबार आएको आँधी ‘डेनियल’को मुसलधारे वर्षाका कारण बाढी आएको हो।
बेन्गाजीबाट २५० किलोमिटर (१५० माइल) पूर्वमा पर्ने डेर्ना पहाडहरूले घेरिएको छ र गर्मी याममा सामान्यतया सुख्खा नदीको किनारमा विभाजित छ। तर यो माटो–खैरो पानीको उग्र धारमा परिणत भएको छ, जसले धेरै प्रमुख पुलहरू पनि बगाएको छ।
लिबियाको आपतकालीन सेवाले दिएको मृतकको सङ्ख्या रेड क्रस र पूर्वका अधिकारीहरूले प्रदान गरेको गम्भीर अनुमानसँग मिल्दोजुल्दो छ, जसले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।
‘मृत्यु हुनेको संख्या ठूलो छ र हजारौंसम्म पुग्न सक्छ,’ इन्टरनेसनल फेडेरेसन अफ रेड क्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीका तामेर रमजानले भने।
रमजानले भने, ‘हामी हाम्रो स्वतन्त्र सूचना स्रोतबाट हराइरहेका व्यक्तिको संख्या अहिलेसम्म १० हजार भन्दा बढी भएको पुष्टि गर्दछौं।’
लिबियाको पूर्वी क्षेत्रमा सहायता समूह नर्वेजियन रिफ्यूजी काउन्सिलले बाढीका कारण पूरै गाउँ डुबेको र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जनाएको छ।
लिबियाका समुदायले वर्षौंदेखि द्वन्द्व, गरिबी र विस्थापन सहनु परेको छ। पछिल्लो विपत्तिले यी मानिसहरूका लागि स्थितिलाई अझ बिगार्नेछ। अस्पताल र आश्रयस्थलहरूको अभाव हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।