काठमाडौं– ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ। काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज (आइतबार) एक जना प्रतिवादीको बहस हुनेछ। त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।
सरकारी वकिलले जवाफी बहस सके सम्भवत: आइतबार नै थुनछेक आदेश आउने दाहालले बताए। ‘सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला,’ दाहालले भने। यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले बहस सकेका थिए।
तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका कानुन व्यवसायीको मात्रै बहस बाँकी थियो। आइतबार घिमिरेका तर्फबाट कानुन व्यवसायीले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ।
कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतको निर्णय नै थुनछेक आदेश हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी दस्तखत तथा लिखत किर्ते गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३१० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० दिन लगाएर संगठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले संगठित अपराधको कसुर आकर्षित नहुने भन्दै किर्तेमा मात्रै मुद्दा दर्ता गरेको थियो।
२०४९ सालदेखि २०६९ सालसम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो। उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव, बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ।
आरोपीमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मिनबहादुर गुरुङ, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री तथा पूर्वसचिवसमेत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।