डडेलधुरा– डडेलधुरामा सडक माथिबाट पहिरोसँगै खसेको ढुङ्गा लागेर १ जना किशोरको मृत्यु भएको छ। केआईसिंह राजमार्गअन्तर्गत डडेलधुरा गन्यापधुरा गाउँपालिका–२ स्थित रडुवा खोलामा मोटरसाइकलमा सवार १ जनालाई सडक माथिबाट पहिरोसँगै खसेको ढुङ्गा लागेको थियो।
मोटरसाइकलमा बसेका डडेलधुराको अमगरगढी–४ का १८ वर्षीय राकेश ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसम नायकले जानकारी दिए।
डोटीको दीपायलबाट डडेलधुारातर्फ आउँदै गरेको म १ प ८८३० नम्बरको मोटरसाइकल पछाडि सवार ऐरको टाउकोमा शनिबार माथिबाट खसेको ढुंगा लागेकाे थियो। उनले हेल्मेट लगाएका थिएनन्।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई डडेलधुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरे पनि आइतबार बिहान बाटोमै मृत्यु भएको हो।
मोटरसाइकल चालक डडेलधुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु भने सकुशल रहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।