काठमाडाैं- युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी संगठन जी-२० मा नयाँ सदस्य थपिएको छ। समूहको स्थायी सदस्यका रुपमा अफ्रिकी संघ थपिएको हो।
जी २० का अध्यक्ष एवं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समूहको शिखर सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी संघको प्रतिनिधत्व गरिरहेका संघका अध्यक्ष अजाली असुमानीलाई जी २० को स्थायी सदस्यका रूपमा समूहका नेताहरूसँगै आसन ग्रहण गर्न आग्रह गरे। 'सबैको स्वीकृतिमा अफ्रिकी संघका प्रमुखलाई जी २० को स्थायी सदस्यको रूपमा आफ्नो स्थानमा बस्न अनुरोध गर्दछु' प्रधानमन्त्री मोदीले आफ्नो स्वागत मन्तव्यका क्रममा भने।
प्रधानमन्त्री मोदीको अनुरोधसँगै विदेश मन्त्री एस जयशंकरले युनियन अफ कोमोरोसका अध्यक्ष एवं अफ्रिकी संघका अध्यक्ष असुमानीलाई विश्व नेताहरूका स्थानमा लिएर गए। प्रधानमन्त्री मोदीले नै अफ्रिकी संघलाई समूहमाा ल्याउन प्रस्ताव गरेका थिए।
प्रधानमन्त्री मोदीले गत जुनमा जी २० का आफ्ना समकक्षीहरूलाई पत्र लेखेर नयाँदिल्ली शिखर सम्मेलनमा अफ्रिकी संघलाई पूर्ण सदस्यता प्रदान गर्न अनुरोध गरेका थिए। सन् २००२ मा सुरु भएको अफ्रिकी महादेशका ५५ देशको समूह अफ्रिकी संघलाई संघमा आवद्ध देशहरूको अनुरोधमा पूर्ण सदस्यता दिन प्रधानमन्त्री मोदीले प्रस्ताव गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।