काठमाडौं– नेपालमा कृषि कार्यका लागि ऋण लिने कृषक परिवारको संख्या घटेको छ। केन्द्रीय तथ्यांक कार्यालयकाले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्कअनुसार कृषि कार्यका लागि ऋण लिने कृषक परिवारको संख्या ४ लाख ८३ हजार रहेको छ। यो संख्या कुल कृषक परिवारको १२ प्रतिशत हो।
अघिल्लो कृषि गणना २०६८ मा कृषि कार्यका लागि ऋण लिने परिवारको संख्या ८ लाख ३६ हजार थियो। जुन कृषक परिवारको २२ प्रतिशत रहेको थियो। जसअनुसार १० प्रतिशतले कृषि कार्यका लागि ऋण लिने कृषक परिवारको संख्या घटेको पाइएको हो।
कृषि कार्यका लागि ऋण लिएकामध्ये सबैभन्दा बढी अर्थात् २९ प्रतिशतले सहकारीबाट ऋण लिएका छन्। अघिल्लो कृषि गणन २०६८ का अनुसार ऋण लिएका कृषकमध्ये सबैभन्दा बढी अर्थात् ३५ प्रतिशत परिरवारले आफन्तबाट ऋण लिएका थिए।
कृषि कार्यका लागि ऋण आवश्यक छ भन्ने वा ऋण लिएकाको हकमा थप ऋणको आवश्यकता रहका परिवारको संख्या १४ लाख १५ हजार रहेको छ। यो कुल कृषकको ३४ प्रतिशत हो। यसरी कृषक परिवारमध्ये सबैभन्दा बढी अर्थात् ३७ प्रतिशत कृषक परिवारले पशुपंक्षी पालनका लागि ऋण आवश्यक छ भनि उल्लेख गरेका छन्।
अघिल्लो कृषि गणना २०६८ का अनुसार कृषि कार्यका लागि नयाँ ऋण थप आवश्यकता छ भन्ने कृषक परिवारको संख्या १६ लाख १ हजार अर्थात् ४२ पतिशत रहेको थियो। जसमध्ये ४५ प्रतिशत कृषक परिवारले पशुपंक्षी पालनका लागि ऋण आवश्यक भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।