एजेन्सी- उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने चेतावनी अमेरिकाले दिएको छ। उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता सक्रिय रुपमा अगाडि बढिरहेको तथा उत्तर कोरियाली नेता किम जङ उन रुस भ्रमणमा जाने समाचार सार्वजनिक भइरहेका बेला वासिङ्टनले यस्तो टिप्पणी गरेको हो ।
यदि उत्तर कोरियाले युक्रेनविरुद्ध युद्ध लड्न रुसलाई हतियार प्रदान गरेमा उसले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबारको एक बिफिङमा बताए।
उत्तर कोरियाली नेता किम राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार वार्ताका लागि यसै महिना रुस भ्रमण जाने योजनामा रहेको खबर बाहिर आएको थियो।सल्लाहकार सुलिभानले दुवै नेताबीच कहिले भेटवार्ता हुन्छ भन्नेबारेमा भने केही खुलाएनन्। उनले नेताद्वयबीच रुसमा भेटवार्ता हुने जानकारी अमेरिकासँग रहेको दाबी गरे।
गत जुलाईमा रुसी रक्षामन्त्री सर्गेई शोइगुको उत्तर कोरियाको भ्रमण गरेका थिए। अहिले नेता किम रुस भ्रमण निस्कन लागेका हुन्। प्योङयाङका तर्फबाट हतियार सम्झौता गर्न उनी रुस भ्रमणमा जान लागेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।