पाटन– ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज (बुधबार) बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
कृष्णको पादुका राखी पूजाको व्यवस्था मिलाइएकामा श्रद्धालुहरुले बिहानैदेखि लाइन लागेर पूजाआजा गरिरहेका छन्।
भगवान कृष्णको श्रद्धापूर्वक पूजा आराधना गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ। मन्दिर जान नसकेका श्रद्धालुहरुले व्रत बसी घरघरमा नै कृष्णको पादुका खडा गरेर पूजाआजा गर्ने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।